Skip to Main Content
Ecourse

September 10, 2026
1 minute read
An infographic poster for World Suicide Prevention Day, dated September 10, 2026, created by the Blind Youth Association Nepal (BYAN). Header: Main Title: WORLD SUICIDE PREVENTION DAY Theme Banner: Changing the Narrative on Suicide Sub-banner: Start the conversation
 प्रेस विज्ञप्ति-विश्व आत्महत्या रोकथाम दिवस

प्रेस विज्ञप्ति

विश्व आत्महत्या रोकथाम दिवस

संवाद सुरु गरौँ, कोही पनि छुट्न नदिऔँ

२०८३ भदौ २५, बिहीबार

काठमाडौं, नेपाल

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेत्रहीन युवासंघ नेपाल (BYAN) ले मानसिक तथा मनोसामाजिक स्वास्थ्य र आत्महत्या रोकथामका क्षेत्रमा तत्काल तथा समावेशी पहल गर्न सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछौँ। मुलुकभरका समुदायलाई प्रभावित पारेको विनाशकारी विपद्को सामना नेपालले गरिरहेको वर्तमान अवस्थामा यस विषयको महत्त्व झन् बढेर गएको छ।

सन् २०२४ देखि २०२६ सम्मको विश्वव्यापी नारा “आत्महत्याप्रतिको आमधारणा बदलौँ” (Changing the Narrative on Suicide) रहँदै आएको छ भने यस वर्षको आह्वान “संवाद सुरु गरौँ” (Start the Conversation) तय गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष ७ लाख २० हजारभन्दा बढी व्यक्तिको आत्महत्याका कारण मृत्यु हुने गरेको पाइएको छ। यो यथार्थलाई मध्यनजर गर्दै उक्त अभियानले खुला र संवेदनशील संवादको थालनी गर्न, सामाजिक लाञ्छना घटाउन, गुणस्तरीय सेवामा पहुँच विस्तार गर्न र आत्महत्या रोकथामका लागि थप प्रभावकारी कदम चाल्न आह्वान गरेको छ।

अहिलेको विनाशकारी बाढी पहिरोको मारबीच गुज्रिरहेको नेपालको सन्दर्भमा यो आह्वान झनै सान्दर्भिक बनेको छ। प्राप्त विवरणअनुसार भदौ २४ गतेसम्म कम्तीमा १ हजार ३ सय ८० जनाको मृत्यु भइसकेको छ भने करिब ५ हजार ५ सय व्यक्ति अझै बेपत्ता छन्। खोज, उद्धार र राहतका कार्यहरू निरन्तर जारी रहे पनि धेरै परिवार आफ्ना आफन्तको अवस्थाको बारेमा अहिलेसम्म जानकार छैनन्। अपूरणीय क्षति र अनिश्चयले समुदायमा छाड्ने मनोवैज्ञानिक असर दीर्घकालसम्म रहने हुन्छ।

यस्तो परिस्थितिले सृजना गरेको असर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथि अझ गहिरो रूपमा पर्ने गर्दछ। विपद्को समयमा दैनिक जीवनका लागि अपरिहार्य सहायक सामग्री हराउने वा क्षतिग्रस्त हुने जोखिम धेरै हुन्छ। त्यसमाथि सबै वर्गका अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य नभएका अस्थायी आश्रयस्थल, आपत्कालीन सूचना, सञ्चार प्रणाली र स्वास्थ्य सेवाले सुरक्षा, स्वावलम्बन र सहयोगको सजिलो पहुँचमा थप अवरोध सृजना गरिदिन्छन्। नियमित उपचार, औषधि र सहयोगी सामग्रीमा आउने अवरोधले यस्तो जोखिमलाई अझ बढाइदिन्छ। परिवार तथा सामुदायिक सञ्जालबाट अलग्गिनुपर्दा एक्लोपन र असुरक्षाको अनुभूति बढ्दै जाने हुन्छ। यसै कारण मानसिक तथा मनोसामाजिक स्वास्थ्यलाई विपद् प्रतिकार्य र पुनर्लाभको अभिन्न अङ्गका रूपमा स्वीकार गरिनुपर्दछ। यो बेवास्ता गरी पछि हेर्दा पनि हुने विषय हुँदै होइन।

तदनुरूप, नेत्रहीन युवासंघ नेपालले नेपाल सरकार, मानवीय सहायता निकाय, स्थानीय तह तथा विकास साझेदारसमक्ष देहायका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदछौँ:

  • प्रभावित समुदाय र अस्थायी आश्रयस्थलमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी पहुँचयोग्य मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्ने।
  • हराएका वा बिग्रिएका अत्यावश्यक सहायक सामग्री तत्काल प्रतिस्थापन गर्ने।
  • राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ लाई विभिन्न सञ्चार तथा पहुँचसम्बन्धी आवश्यकता भएका व्यक्तिका लागि सहज बनाउने।
  • आश्रयस्थल र स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा स्थापना गरी उपयुक्त प्रेषण (रेफरल) प्रणाली विकास गर्ने।
  • मानसिक स्वास्थ्य तथा अन्य क्षेत्रमा कार्यरत जनशक्तिलाई अपाङ्गता समावेशी सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण गराउने।
  • विपद् प्रतिकार्य, पुनर्लाभ र पुनर्निर्माणका हरेक चरणमा अपाङ्गता भएका व्यक्ति र उनीहरूका संस्थाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने।
  • मानसिक तनाव तथा पीडामा रहेका व्यक्तिको मर्यादा, गोपनीयता, आत्मनिर्णयको अधिकार र मानव अधिकारको संरक्षण गर्ने।

विपद् प्रतिकार्य होस् या आत्महत्या रोकथाम, अपाङ्गता भएका व्यक्तिलाई पछि सम्झिने विषय बनाइनु हुँदैन। पहुँच आफैँमा जीवनरक्षक सहयोगको अंश हो र पुनर्लाभको केन्द्रमा समावेशिता रहनुपर्दछ। समावेशिता सहानुभूतिको विषय होइन, यो नागरिकको अधिकार र राज्यको दायित्व हो।

अन्त्यमा, यस विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नेत्रहीन युवासंघ नेपालले सबैलाई संवाद सुरु गर्न, कुनै पूर्वाग्रहविना सुन्न र आवश्यक परेको बेला सहजै सहयोग अधिकारका रूपमा उपलब्ध हुने अवस्था निर्माण गर्न हार्दिक आग्रह गर्दछौँ। “संवादको घेरा जति फराकिलो बन्छ, बाँच्ने आधार पनि त्यति नै फराकिलो बन्दै जान्छ”।

हरेक जीवन मूल्यवान् छ। हरेक व्यक्ति सहयोगको हकदार छन्। कोही पनि छुट्नु हुँदैन र बिना भेदभाव कसैलाई पनि छुटाउनु हुँदैन।

भवदीय,

रामचन्द्र गैह्रे, अध्यक्ष

नेत्रहीन युवा सङ्घ नेपाल (BYAN)

Tags:
Share this post:
calendar-fullclockchevron-down