Skip to Main Content
Ecourse

राष्ट्रिय बाल दिवस २०८३

September 14, 2026
1 minute read
A digital poster for National Children's Day 2083 (राष्ट्रिय बाल दिवस २०८३) created by the Blind Youth Association Nepal (BYAN). At the top left, the organization's logo appears alongside the bold title. In the center, a red brush-stroke banner features the slogan: “बालपनको रक्षा: भविष्यको सुरक्षा” (Protection of childhood: Security of the future).

“बालापनको रक्षाः भविष्यको सुरक्षा”

हाम्रो सन्देश

राष्ट्रिय बाल अधिकार परिषद्ले राष्ट्रिय बाल दिवस २०८३ को मूल नारा “बालापनको रक्षाः भविष्यको सुरक्षा” तय गरेको छ। नेत्रहिन युवा सङ्घ नेपाललेपनि   यस नारालाई आत्मसात् गर्दै अपाङ्गता भएका बालबालिकाको अधिकार, सुरक्षा, सम्मानजनक र अर्थपूर्ण सहभागिता र सम्मान सुनिश्चित नगरी बालापनको रक्षा र सुरक्षित भविष्यको निर्माण सम्भव छैन।

नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५ तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लगायतका कानुनी व्यवस्थाले अपाङ्गता भएका बालबालिकाको समानता, संरक्षण, शिक्षा, स्वास्थ्य, विकास, सहभागिता र पहुँचको अधिकार सुनिश्चित गरेको छ। नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (CRPD) पनि अनुमोदन गरेको अवस्थामा, जसले प्राकृतिक विपद् तथा मानवीय संकटमा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र संरक्षण सुनिश्चित गर्नु राज्यको प्रमुख  दायित्वको रूपमा स्वीकार गर्नुपर्दछ।

तर, कानुनी प्रावधान,अधिकार र व्यवहारिक पहुँचबीच अझै ठूलो अन्तर छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको देखिन्छ। १०–१९ वर्ष उमेर समूहका ८२,२७० किशोरकिशोरीहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्याङ्कले बालबालिका तथा किशोरकिशोरीका लागि समावेशी शिक्षा, स्वास्थ्य, संरक्षण, सम्मानजनक र अर्थपूर्ण सहभागिताको आवश्यकता स्पष्ट गर्दछ।

हालै रसुवामा गएको  विनाशकारी बाढी र पहिरोले यस विषयको आवश्यकतालाई झन् टड्कारो रूपमा उजागर गरेको छ।   विपद्को समयमा अपाङ्गता भएका बालबालिका पहुँचयोग्य पूर्वसूचना, सुरक्षित उद्धार, सुरक्षित आश्रय, पहुँचयोग्य स्वास्थ्य सेवा, समावेशी शिक्षा, संरक्षण तथा आवश्यक सहायक सामाग्री बाट छुट्न सक्ने थप जोखिममा हुन्छन्।

विपद्को समयमा अपाङ्गता समावेशीकरण अतिरिक्त काम होइन—बाल संरक्षण मानवीय सहायताको अनिवार्य सर्त हो

यसै सन्दर्भमा तल उल्लेख गरिएका केही तथ्यहरूलाई सबैले गम्भीरतापूर्वक मनन गर्न आवश्यक देखिन्छ/

राष्ट्रिय बाल अधिकार परिषद्ले हालसालै गरेको भोटेकोशी बाढी प्रभावित बालबालिकाको अवस्था र आवश्यकता सम्बन्धी द्रुत लेखाजोखा २०८३ अनुसार बालबालिकाको अवस्था:

  • १,२३३ जना बालबालिका (६३२ बालिका, ५९१ बालक) अस्थायी आश्रयस्थलमा रहेका छन्।
  • २१ जना अपाङ्गता भएका बालबालिका रहेका छन्।
  • १०२ जना बालबालिकाले दुवै अभिभावक गुमाएका छन्।
  • ४३९ जना बालबालिका अभिभावकबाट छुट्टिएका वा विस्थापित अवस्थामा छन्।
  • ६९२ जना बालबालिका एक वा दुवै अभिभावकसँगै बसिरहेका छन्।

विद्यालय र बालबालिकाको शिक्षामा परेको प्रभाव:

  • १९ वटा विद्यालय प्रभावित भएका छन्।
  • करिब ६,९०१ विद्यार्थी प्रभावित भएका छन् ।
  •  नुवाकोटमा ८ वटा र रसुवामा ४ वटा गरी १२ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको अध्ययनमा उल्लेख छ।
  • रसुवाको उत्तरगया गाउँपालिकामा करिब २०० जना बालबालिका हराएको जानकारी प्राप्त भएको उल्लेख छ। त्यहाँ ५७ जना बालबालिकाले अभिभावक गुमाएको जानकारी पनि स्थानीय तहबाट प्राप्त भएको छ।
  • कालिका गाउँपालिका, रसुवामा सञ्चालन भइरहेको होल्डिङ सेन्टरमा एक बालक हराएको र एक अभिभावकविहीन बालक रहेको जानकारी प्राप्त भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको पछिल्लो बाढीसम्बन्धी जानकारी अनुसार:

  • जना अपाङ्गता भएका व्यक्तिको अवस्था मूल्याङ्कन गरिएको थियो। जसमा ४७ जना हाल विस्थापित अवस्थामा छन्। १२ जना हराइरहेका वा सम्पर्कमा आउन नसकेका छन्। ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। पोर्टलमा ४९ वटा सहयोगका अनुरोधहरू दर्ता भएका छन्, जसमध्ये २५ वटा अत्यन्तै जरुरी (Extremely Urgent) भनेर वर्गीकरण गरिएका छन्। सर्वेक्षणमा सहभागी अपाङ्गता भएका व्यक्तिमध्ये ८४% सँग व्यक्तिगत विपद् पूर्वतयारी योजना छैन। ५६% जनासँग पहुँचयोग्य ढाँचामा विपद् जोखिमसम्बन्धी सूचना प्राप्त गर्ने सुविधा छैन। स्थानीय विपद् जोखिम न्यूनीकरण योजनाले आफ्ना आवश्यकता सम्बोधन गरेको केवल ८% ले मात्र बताएका छन्।

नेत्रहिन युवा सङ्घ नेपालको राष्ट्रिय आह्वान

  • योजनाको केन्द्रमा राखौँ: हरेक बालसम्बन्धी नीति, योजना, बजेट र कार्यक्रममा अपाङ्गता भएका बालबालिकालाई स्पष्ट रूपमा समेटौँ।
  • समावेशी शिक्षा सुनिश्चित गरौँ: हरेक बालबालिकाले पहुँचयोग्य विद्यालय, सिकाइ सामाग्री , प्रशिक्षित शिक्षक, आवश्यक सहयोग र सहायक सामाग्री/प्रविधिसहित गुणस्तरीय शिक्षा पाउने व्यवस्था गरौँ।
  • विपद्मा कुनै बालबालिका पछाडि नछुटाऔँ: पूर्वसूचना, उद्धार, राहत, अस्थायी आश्रय, खानेपानी, स्वास्थ्य सेवा, बालमैत्री स्थान र अस्थायी सिकाइ केन्द्रलाई अपाङ्गता समावेशी र पहुँचयोग्य बनाऔँ।
  • बाल संरक्षण प्रणालीलाई पहुँचयोग्य बनाऔँ: बाल हेल्पलाइन, उजुरी तथा प्रेषण (referral) प्रणाली, पारिवारिक पुनर्मिलन, हिंसा तथा दुर्व्यवहार रोकथाम र मनोसामाजिक सहयोगमा अपाङ्गता भएका बालबालिकाको समान पहुँच सुनिश्चित गरौँ।
  • बालबालिकाको आवाज सुनौँ: अपाङ्गता भएका बालबालिकालाई उनीहरूको उमेर, क्षमता र सञ्चार आवश्यकताअनुसार आफूलाई असर गर्ने निर्णयमा अर्थपूर्ण रूपमा सहभागी गराऔँ।
  • तथ्याङ्क र जवाफदेहिता सुदृढ गरौँ: अपाङ्गता, उमेर, लिङ्ग र स्थानअनुसार विश्वसनीय तथ्याङ्क संकलन गरी त्यसका आधारमा बजेट, सेवा र कार्यक्रमको योजना तर्जुमा, लागू तथा अनुगमन गरौँ।
  • अपाङ्गता भएका व्यक्तिहरूका संगठनहरू (OPDs) लाई अनिवार्य रूपमा साझेदार बनाऔँ: अपाङ्गता भएका व्यक्तिहरूका संगठन तथा अपाङ्गता भएका बालबालिका र युवाका  प्रतिनिधिमूलक संरचनालाई नीति निर्माण, विपद् प्रतिकार्य, कार्यान्वयन र अनुगमनमा सार्थक साझेदार बनाऔँ।

हाम्रो प्रतिबद्धता:

नेत्रहिन युवा सङ्घ नेपाल (BYAN) अपाङ्गता भएका बालबालिकाको अधिकार, आवाज, सहभागिता र नेतृत्व सुदृढ गर्न प्रतिबद्ध छ। हामी सरकारका तिनै तह , बाल अधिकार सम्बन्धी काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, विकास तथा मानवीय सहायता साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवालाहरूसँग सहकार्य गर्दै:

बाल अधिकार र अपाङ्गता अधिकार सम्बन्धि पैरवी गर्ने, अपाङ्गता समावेशी बाल संरक्षण तथा विपद् प्रतिकार्य प्रवर्द्धन गर्ने, अपाङ्गता भएका बालबालिकाको अर्थपूर्ण सहभागिता र नेतृत्व बढाउने, तथ्यमा आधारित नीति तथा कार्यक्रमका लागि आवाज उठाउने,र अपाङ्गता भएका व्यक्तिहरूका संगठन तथा बालबालिकासँग सामूहिक पैरवीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

निष्कर्षमा:

अपाङ्गता भएका बालबालिकालाई दया होइन, अधिकार र समान अवसर सुनिश्चित गरौँ; छुट्टै व्यवस्था होइन, समावेशी प्रणाली विकास गरौँ र उनीहरूसँगै निर्णय गरौँ। बालापनको रक्षा गरौँ, समावेशी भविष्य निर्माण गरौँ कुनै पनि बालबालिकालाई पछाडि नछुटाऔँ।

अर्जुन रावल
महासचिव

नेत्रहिन युवा सङ्घ नेपाल

Share this post:
calendar-fullclockchevron-down