हरेकले सिक्न सक्छन (Everyone Can Learn)
Resource Details
शिक्षा सबै बालबालिकाको अधिकार हो । यो अधिकार अपाङ्गता भएका बालबालिकाले पनि पाएका छन् । उनीहरूको शिक्षाका लागि विभिन्न किसिमका नीति, कानुन र निर्देशिकाहरू बनेका छन् । तर आजको बदलिएको शासकीय संरचनामा नव निर्वाचित जनप्रतिनिधि, सरोकारवाला पदाधिकारी र कतिपय शिक्षकसमेतमा यसबारेमा आवश्यक जानकारी हुन सकेको छैन । यस कारण विभिन्न प्रकृतिको अपाङ्गता भएका बालबालिकाप्रति गरिने सामजिक विभेद र भौतिक तथा सञ्चारगत अवरोधहरू कायमै रहेका छन् । यसले गर्दा अपाङ्गता भएका बालबालिकाहरूको विद्यालय भर्ना, सिकाइ र टिकाइ सन्तोषजनक नहुनु स्वाभाविक हो । यस कुरालाई मनन गरेर नव निर्वाचित जन प्रतिनिधि, सरोकारवाला संस्थाका पदाधिकारी र शिक्षक वर्गसमेतमा अपाङ्गता र अपाङ्गता भएका बालबालिकाको शिक्षाका बारेमा आधारभूत कुराको जानकारी पु¥याउन सकियोस् भनेर यो पुस्तिका तयार गरिएको छ । यस पुस्तिकामा समाजमा अपाङ्गताप्रतिको बुझाइ; अपाङ्गताको परिचय र वर्गीकरण; अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ वातावरण; अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि परिवार, समाज, विद्यालय र स्थानीय सरकारको भूमिका र यससम्बन्धी नीति नियमका आधारभूत कुरा राखिएका छन् । यसले उहाँहरूमा अपाङ्गताका बारेमा आधारभूत कुराको जानकारी होला र उहाँहरूबाट अपाङ्गता बालबालिकाको शिक्षामा सम्भव भएको योगदान हुन सक्ला भन्ने अपेक्षा गरिएको छ ।
यो पुस्तिका कसरी प्रयोग गर्ने ?
अपाङ्गता अनेकन् प्रकृतिको हुन्छ । नेपालको कानुनले अपाङ्गतालाई दश समूहमा वर्गीकरण गरेका छ । हरेक गाउँ समाजमा कुनै न कुनै प्रकारको अपाङ्गता भएका मानिस हुन सक्छन् । हाम्रो गाउँ समाजमा भने अपाङ्गता भन्नाले केवल शारीरिक अपाङ्गतालाई मात्र बुझ्ने मानिस पनि छन् । मानसिक अपाङ्गतालाई अपाङ्गता नठान्नेहरू पनि छन् । दृष्टि र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाले पनि लेखपढ गर्न, शिक्षा लिन र आर्जनका काम गर्न सक्छन् भन्दा विश्वास नलाग्ने पनि छन् । कतिपयले त अपाङ्गता भएकालाई लेखपढ गराएर कुनै प्रतिफल पाउन सकिँदैन भन्ने पनि ठान्छन् । अर्कोतर्फ अपाङ्गता भनेको पूर्वजन्मको पापको फल हो भन्ने अन्धविश्वासी पनि छन् । यस्ता धारण पाल्नुभन्दा अपाङ्गताबा बारेमा बुझ्ने प्रयास गर्नु बुद्घिमानी हुन्छ । आफ्नै परिवारमा पनि सामान्य अवस्थाको कुनैे प्रकारको अपाङ्गता भएका सदस्य हुन सक्छन् । आफैँमा पनि यस्तो अपाङ्गता हुन सक्तछ । रोग र दुर्घटना कारण कोही पनि व्यक्तिमा अपाङ्गता हुने सम्भावना रहन्छ । यहाँको हातमा यो सामग्री आएको छ । यसलाई निम्नअनुसार प्रयोग गरी अपाङ्गताप्रतिको सामाजिक सचेतना अभिवृद्घिमा सहयोग गरिदिनुहुने छ भन्ने आशा गरिएको छ ।
- यो पुस्तिका दुई घन्टा जतिमा अध्ययन गर्न सकिन्छ । यसलाई आफ्नो अनुकूल समयमा रुचिपूर्वक एक दुई पटक अध्ययन गर्दा विभिन्न प्रकारका अपाङ्गताका बारेमा जानकारी बढाउन सकिन्छ ।
- यस सामग्रीमा बताए जस्तो अपाङ्गता भएको व्यक्ति गाउँघरमा केही छन् भने ऊ र उसको अवस्था ख्याल गर्दा सामग्रीमा दिइएको अपाङ्गताका बारेमा प्रस्ट भइने छ ।
- सामग्रीमा दिइएका अपाङ्गतासम्बन्धी सूचनाहरू एकअर्कामा छलफल गर्नुपर्छ । एकले बुझेको कुरा अर्कोलाई प्रस्ट पार्नुपर्छ।
- थप सूचनाका लागि अपाङ्गताको बारेमा जानकारी राख्ने व्यक्तिसँग सोधपुछ गर्नुपर्छ ।
- आफूले पाएका सूचना आफ्नो गाउँटोलका सर्वसाधारणमा सुनाएर प्रचार गर्दा पाएको जानकारी स्मरणमा रहन्छ ।
- आफ्नो छेउछाउका मूलधारका विद्यालय र विशेष तथा स्रोतकक्षा विद्यालय भ्रमण गरेर अपाङ्गता भएका बालबालिकाको अवलोकन गर्ने, उनीहरूका कुरा सुन्ने, स्रोत शिक्षकसँग छलफल गर्ने गर्नुपर्छ ।