+977 01 4230123

अपाङ्गता भएका युवाहरूको राष्ट्रिय सम्मेलनद्वारा ३५ बुँदे घोषणापत्र जारी

December 6, 2024
0 minutes read
A young person with disability is shown speaking on large screen and there are some other people on stage

अपाङ्गता भएका युवाहरूको पहिलो राष्ट्रिय सम्मेलन मंसिर १९ र २० गते ललितपुरमा सम्पन्न भयो। देशभरका १०० भन्दा बढी अपाङ्गता भएका युवाहरूको सहभागितामा दुई दिनसम्म चलेको यो सम्मेलनले ३५ बुँदे ललितपुर घोषणापत्र जारी गरेको छ।

यो सम्मेलन अपाङ्गता भएका व्यक्तिहरूको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको थियो, जसको यस वर्षको नारा "समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वको सशक्तिकरण" रहेको थियो। साथै सन् २०२५ मा हुने तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनको पूर्वतयारीको रूपमा पनि यो कार्यक्रम आयोजना गरिएको थियो।

सम्मेलनमा पाँच मुख्य विषयमा छलफल भएको थियो:

  • समावेशी शिक्षा तथा प्रविधिमा पहुँच
  • यौन तथा प्रजनन स्वास्थ्य सेवा र मानसिक स्वास्थ्य समता
  • राजनीतिक तथा सार्वजनिक जीवनमा अर्थपूर्ण सहभागिता र नेतृत्व
  • समावेशी रोजगारी, स्वरोजगार तथा आर्थिक सशक्तिकरण
  • अपाङ्गता समावेशी जलवायु प्रतिकार्य

विभिन्न प्रकारका अपाङ्गता भएका युवाहरूको सहभागिता रहेको यस सम्मेलनको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो। उद्घाटन समारोहमा सांसदहरू प्रेम महर्जन र सोबिता गौतम तथा युनेस्को नेपालका प्रतिनिधि माइकल क्रफ्टको पनि उपस्थिति रहेको थियो।

समापन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। समारोहमा सांसदहरू चन्द्र भण्डारी, राजन दाहाल र रेखा यादव, संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

समापन समारोहमा सहभागी युवाहरूले ३५ बुँदे घोषणापत्र उपस्थित अतिथिहरूलाई हस्तान्तरण गरेका थिए। अतिथिहरूले घोषणापत्रमा उल्लेखित मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share this post:
calendar-fullclockchevron-down